डा. गिरीलाई प्रधानमन्त्रीसमेतले धम्क्याएको भन्दै जीवन रक्षाको अपिल

भक्तपुर, जेठ ३०
‘बृहत नागरिक आन्दोलन’ र ‘सोलिडारिटी फर डा. केसी आलाइन्स’ले आइतवार संयुक्तरुपमा अपिल जारी गर्दै राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको जीवन रक्षाको लागि अपिल गरेको छ ।
प्रधानमन्त्री के पी शर्मा ओलीसहितका मन्त्रीहरुले डा. गिरीलाई बालुवाटार बोलाएर दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बीएण्डसी मेडिकल कलेजलाई एमबिबिएस कक्षा सञ्चालन गर्ने सम्बन्धन दिन वा राजिनामा गर्न धम्क्याएको आरोप लगाउँदैं नागरिक आन्दोलन र अलाइन्सले डा. गिरीको जीवन रक्षाको लागि अपिल गरेको हो ।
‘आज ३० गतेका दिन प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटार बोलाइ प्रकृया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएका छन् । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ र स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ समेतले उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर गर्न वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा. गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको छ,’ अपिलमा भनिएको छ ।
अपिलमा राज्य शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्री र मन्त्रीहरुले ज्यादती गरेको भन्दै भत्सर्ना समेत गरेको छ । प्रधानमन्त्री निवासलाई गुण्डागर्दीको थलो बनाएको भन्दै नागरिक आन्दोलन र अलायन्सले आपत्तिसमेत जनाएका छन् ।
‘मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धराशायी पार्ने चेष्टा स्वयंमा भत्सर्ना योग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ । त्यसैले डा. गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बनेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौँ,’ अपिलमा उल्लेख छ ।