कटुञ्जे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

भक्तपुर, जेठ ३०
सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्राप्त सामग्रीमा दुई थान वेड, अस्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायतका छन ।
कटुञ्जेमा जन्मी हाल अमेरिकामा विभिन्न पेशा व्यवसाय र अध्ययन गरिरहेका विद्यार्थीहरुले सहयोगमा ती संकलन गरी ती सामग्री सहयोग गरेको स्वास्थ्य चौकी सञ्चालन समितिका उपाध्यक्ष राम थापाले बताउनुभयो ।
सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाले आगामी वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभयो । उहाँले जगताीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनको अन्तिम तयारी अवस्थामा रहेको र सो अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि टेण्डर भइसकेको जानकारी दिनुभयो । उहाँले कोभिड संक्रमण रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन माग भएको २४ घण्टाभित्र सम्बोधन गर्ने व्यवस्था गरेको बताउनुभयो ।
वडा अध्यक्ष एवम् कटुञ्जे स्वास्थ्य चौकीका अध्यक्ष राजकुमार जोशीले कटुञ्जे जन्मथलो भई हाल अमेरिका बस्ने नेपालीहरुको सहयोगले स्वास्थ्य चौकीको आवश्यकता केही हदसम्म परिपुर्ती भएकोमा सहयोगीहरुलाई धन्यवाद दिनुभयो । उहाँले अहिले कोरोनाको संक्रमण केही घटेको भएता पनि जोखिम घटि नसकेकोले सबैले उच्च सतर्कताका साथ स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र अनावश्यकरुपमा हिँडडुल गर्न नहुनेमा जोड दिनुभयो ।