गण्डकी प्रदेशमा नयाँ ट्वीस्ट – मुख्यमन्त्रीमा गुरुङको पनि दावी, प्रदेश सभा भंग हुने आशंका

भक्तपुर, जेठ २९
गण्डकी प्रदेशको मख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङले पनि दावी गर्नुभएको छ । गुरुङले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षको पत्रसहित मुख्यमन्त्रीमा नियुक्त गरियोस भनी प्रदेश प्रमुख समक्ष शनिवार दावी प्रस्तुत गर्नुभएको हो ।
गण्डकी प्रदेशको ठूलो दलको हैसियतले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएका गुरुङले बिहिवार प्रदेश सभामा विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको थियो । प्रदेश प्रमुख सिता पौडेलले शनिवार दिउँसो ३ बजेसम्म संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि प्रदेश सभामा बहुमत प्राप्त गर्न सक्ने आधारसहित मुख्यमन्त्री दावी गर्न शुक्रवार आह्वान गर्नुभएको थियो ।
सोही अनुसार शुक्रवार नै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र सांसद राजिव गुरुङसहित प्रदेश सभाका बहुमत ३१ सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गर्नुभएको थियो । तर प्रदेश प्रमुख पौडेलले आवश्यक अध्ययन गरेर समयावधीभित्रै निर्णय लिने जानकारी विपक्षी गठबन्धनलाई दिएको थियो ।
मुख्यमन्त्री र प्रदेश प्रमुखले केन्द्रमा जस्तै प्रदेश सभाका सदस्यहरुको हस्ताक्षरको विषयमा प्रश्न उठाएर अर्कै राजनीतिक चाल चाल्ने आशंकाले विपक्षीहरुले हिजो नै ३१ प्रदेश सभा सदस्यहरुलाई सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराएर हस्ताक्षर सनाखत समेत गराएका थिए ।
मुख्यमन्त्रीमा गुरुङले समेत दावी गरेपछि गण्डकी प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट देखिएको छ । गुरुङको दावीले गण्डकीमा पनि केन्द्रमा जस्तै दावी नपुगेको भन्दै प्रदेश प्रमुखले प्रदेश सभा भंग गरेर मध्यावधी निर्वाचनको घोषणा गर्न सक्ने आशंका व्यक्त गर्न थालेको छ ।