पहिलो हापमा अष्ट्रेलिया २–० ले अघि

भक्तपुर, जेठ २८
विश्वकप तथा एसियन कप छनोट अन्तर्गत कुवेतमा जारी खेलको पहिलो हापमा अष्ट्रेलियाले नेपालविरुद्ध २–० को अग्रता लिएको छ । अष्ट्रेलियाले कप्तान म्याथ्यु लेकि र फ्रान कारासिचलको गोलको मद्दतले २–० को अग्रता बनाएको हो ।


अष्ट्रेलियाका लागि खेलको छैंटौं मिनेटमा अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले रोहित चन्दभन्दा अघि रहेर हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । त्यस्तै खेलको ३७ औं मिनेटमा लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गर्दै अष्ट्रेलियाको अग्रता दोब्बर पारे ।


त्यसो त २८ औं मिनेटमा कप्तान किरणले एज्दीन हर्सतितचको फ्रिकिक बचाउँदा अष्ट्रेलिया अग्रता दोब्बर पार्नबाट चुकेका थिए । ३५ औं मिनेटमा अनन्त तामाङले अष्ट्रेलियालाई गोल थप्नबाट रोके । कप्तान लेकिले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार अनन्तले उत्कृष्ट ट्याकल गर्दै रोकेका थिए । लगत्तै त्यसै क्लियरेन्समा नेपालको काउन्टर अट्याक विपक्षी गोलरक्षक एन्ड्रयु रेडमेनको हातमा पुगेर रोकिएको थियो ।


४० औं मिनेटमा मार्टिन बोएलले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरणले बचाए । खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए । मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए ।


अष्ट्रेलियाले बल पोसेसनमा वर्चस्व जमाएको पहिलो हाफमा निकै आक्रमण बुनेको थियो । सुरुवातमा नै अग्रता लिएपछि अष्ट्रेलियाले पोसेसनमा ध्यान दिँदै आक्रमण बुनेको थियो ।