पहिलो हापमा जोर्डनलाई १–० को अग्रता

भक्तपुर, जेठ २४
विश्वकप र एसियन कपका लागि कुवेतमा भइरहेको छनोट खेलको पहिलो हापमा नेपाल जोर्डनसँग एक गोलले पछि परेको छ । खेलको २३ औं मिनेटमा जोर्डनले पेनाल्टी मार्फत गोल गर्दै नेपाल विरुद्ध अग्रता बनाएको हो ।
रोहित चन्दले सुलेमानलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिए । बाहा फैसल सेफले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिालएका थिए । गोलरक्षक किरणले सहि दिशामा डाइभ दिएपनि सेफको शक्तिशाली प्रहार रोक्न भने सकेनन् ।


पहिलो हाफमा जोर्डनले बल पोसेसनमा दबाब राख्दै आक्रमण बुनेको थियो । जोर्डनको एकपछि अर्को आक्रमणमा गोलरक्षक किरण बाधक बनेका छन ।
खेलको १४ औं मिनेटमा जोर्डनका मोहमद सुलेमानले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई किरणले आफ्नो बायाँतर्फ डाइभ दिँदै उत्कृष्ट बचाउ गरे । २१ औं मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्रभित्र बल गुमाएपनि डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स भित्र आएको लो क्रसलाई क्लियर गर्दै खतरा टारे ।


खेलको २९ औं मिनेटमा डिफेन्डर विकास खवास घाइते हुँदै बाहिर जानु परेपछि सुनिल बल मैदान प्रवेश गरेका थिए । ३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अन्जन विष्टले भेट्न नसक्दा नेपालले बराबरी गर्ने अवसर गुमाएको थियो ।


खेलको ४२ औं मिनेटमा जोर्डनले अग्रता दोब्बर पर्ने अवसर गुमायो । किरण चेम्जोङले पहिलो प्रहार बचाएपछि जोर्डनका खेलाडीले रिबाउन्डमा गरेको दोहोरो प्रहारले पोस्टको दिशा लिन सकेन । इन्जुरी समयमा सुलेमानले तीन डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरिएको थियो ।