भक्तपुरमा सक्रिय संक्रमितको संख्या घट्न थाल्यो

भक्तपुर ः भक्तपुरमा कोरोनाको सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । संक्रमण मुक्त हुनेको संख्या बढेसँगै यहाँ सक्रिय संक्रमितको संख्या घट्न थालेको हो । भक्तपुरमा आइतवार १६९, शनिवार २३१, बिहिवार र शुक्रवार २४० जना संक्रमण मुक्त भएका थिए ।
भक्तपुरमा आइतवार साँझसम्म २ हजार ९५७ जना सक्रिय संक्रमित रहेका छन । यहाँका सक्रिय संक्रमितहरु मध्ये १०४ जना पुरुष र ७७ महिलासहित १८१ जना विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा उपचाररत छन । त्यस्तै १ हजार ४८० पुरुष र १ हजार २९६ महिलागरी २ हजार ७७६ जना होम आइसोलेसनमा छन ।
भक्तपुरमा कोरोना संक्रमण मुक्त हुने ८४ प्रतिशत पुगेको छ । भक्तपुरमा १६ हजार ५०६ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जुन कुल संक्रमित १९ हजार ७२२ को ८३ दशमलव ६९ प्रतिशत हो ।
भक्तपुरमा सोमवार बिहानसम्म २५९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । मृत्यु हुनेमा १६९ पुरुष र ९० महिला छन । मिजारका अनुसार जेठ १६ गते ६, १५ गते ३, १४ गते ४ र १३ गते १ जनाको मृत्यु भएको थियो । जेठ १२ गते भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्यमा झरेको मिजारले बताउनुभयो ।
भक्तपुरमा सबैभन्दा धेरै कोरोना संक्रमणबाट मृत्यु हुने मध्यपुर थिमि नगरपालिकामा छन । यहाँ ६२ पुरुष र २५ महिला गरी ८७ जनाको मृत्यु भएको छ । त्यस्तै भक्तपुर नगरपालिकामा ४२ पुरुष र २९ महिलागरी ७१, सूर्यविनायक नगरपालिकामा ४३ पुरुष र २५ महिलागरी ६८ र चाँगुनारायण नगरपालिकामा २२ पुरुष र ११ महिलागरी ३३ जनाको मृत्यु भएको छ ।