राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे विजयी

भक्तपुर – राष्ट्रिय सभा रिक्त एक सदस्यका लागि भएको लुम्बिनी प्रदेशमा सोमवार सम्पन्न निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५ सय २८ मत भार अन्तरले पराजित गरेको हो ।
पाण्डेले स्थानीय तहतर्फ २ हजार १ सय २४ र प्रदेशसभा तर्फ २ हजार १६ गरी कूल ४ हजार १ सय ४० मत भार प्राप्त गर्नुभयो । निकतम प्रतिद्धन्द्धी खड्काले स्थानीय तहतर्फ १ हजार ६ सय ९२ र प्रदेश सभातर्फ १ हजार ९ सय २० गरी कूल ३ हजार ६ सय १२ मत भार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
पाण्डेलाई स्थानीय तहका प्रमुख–उपप्रमुख १ सय १८ र प्रदेशसभा सदस्य ४२ जनाले मतदान गरेका थिए भने खड्कालाई स्थानीय तहका प्रमुख–उपप्रमुख ९४ र प्रदेश सभा सदस्य ४० जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्य र स्थानीय तह तर्फ एक–एक मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश सभा सदस्यको एक मतको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मतभार गणना हुन्छ ।
पाण्डे हालै एमाले छाडेर कांग्रेस प्रवेश गरेका हुन् भने खड्का माओवादी छाडेर एमाले प्रवेश गरेका हुन । खड्का एमाले प्रवेश गरेकाले खाली भएको स्थानमा उपनिर्वाचन भएको हो ।
कांग्रेस उम्मेदवार पाण्डेलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समूहको समर्थन रहेको थियो । खड्कालाई जसपाका महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले भोट दिएका थिए ।
तीन सय मतदाता रहेकोमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१३ गरी २९६ मत खसेको थियो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।