राष्ट्रिय सभा सदस्यका लागि आज लुम्बिनीमा उपनिर्वाचन

राष्ट्रियसभाको एक रिक्त सदस्यको लागि आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि प्रदेश राजधानी दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थल तोकिएको छ ।
उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का चुनावी मैदानमा छन ।
खड्का यसअघि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । पार्टी विभाजनसँगै खड्का एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उहाँलाई कारवाही  गरी पद मुक्त गराएका थिए । सोही पदका लागि उपनिर्वाचन हुन  लागेको हो । एमालेले खड्कालाई पुनः उम्मेदवार बनाएको छ ।
कांग्रेसका पाण्डे २०७४ को निर्वाचन अघि एमाले प्रवेश गरेर प्रदेशसभामा उम्मेदवार बनेका थिए । पाण्डे प्रदेशसभा सदस्यबाट राजिनामा दिएर पुनः कांग्रेस प्रवेश गरेका हुन ।
मतदान स्थलमा तीन वटा केन्द्र तयार गरिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिनुभयो । निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ । कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको थापाले बताउनुभयो ।
निर्वाचनमा कुल मतदाता ३ सय छन् । जसमा प्रदेश सांसदको संख्या ८३ छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् । उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएपछि प्रदेशसभा सदस्यको संख्या ८३ पुगेको हो ।
यसअघि प्रकाशित मतदाता नामावलीमा जसपाका चार सांसदको नाम थिएन । जसपाले कारवाही गरी सांसद पद खारेज गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई सर्वोच्च अदालतले पुनर्बहाली गरेपछि निर्वाचन आयोगले पुरक मतदाताको रुपमा मताधिकार दिएको हो ।