ख्वप अस्पताललाई २ करोड ४७ लाख सहयोग प्राप्त

भक्तपुर – भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरण व्यवस्थाका लागि आइतवारसम्म २ करोड ४७ लाख ११ हजार ७ सय ४८ रुपैंयाँ सहयोग जुटेको छ ।
नगरपालिकाको आव्हान अनुसार आइतवार थप ६८ लाख ९७ हजार ३ सय २६ रुपैंयाँ आर्थिक सहयोग प्राप्त भएपछि कोषमा २ करोड ४७ लाख ११ हजार ७ सय ४८ रुपैंयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ ।
अक्सिजनको अभावमा कोरोना संक्रमितको मृत्यु हुन थालेपछि भक्तपुर नगरपालिकाले ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट राख्ने र त्यसका लागि सहकारी संस्थाहरुसँग छलफल गरी सहयोगको आव्हान गरेको थियो । सो आव्हान अनुसार नगरभित्र सञ्चालित सहकारी संस्था, विद्यालय, विभिन्न संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।
‘नगरपालिकाको आग्रह अनुसार गत जेठ ५ गतेदेखि १६ गतेसम्ममा २ करोड ४७ लाख ११ हजार ७ सय ४८ रुपैयाँ जम्मा भइसकेको छ,’ नगरउपप्रमुख रजनी जोशीले भन्नुभयो ।
उहाँका अनुसार शुक्रवार ४३ लाख ४४ हजार ७ सय ९५, बिहिवार मात्र रु. ७१ लाख ३१ हजार ९ सय २७, रुपैंयाँ संकलन भएको थियो । सहायता रकम ग्रहण गर्दै नगरउपप्रमुख जोशीले विषम् परिस्थितिमा जनस्तरबाट प्राप्त सहयोगले जनतालाई उच्चस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका सक्षम हुने विश्वास दिलाउनुभयो ।
नगरपालिकाले सहयोग रकम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ । नगरपालिकाले प्रकोप व्यवस्थापन कोषको नेपाल बैंक लिमिटेड, कमलविनायक शाखामा रहेको खाता नं. ०१९०३०००००७००२०००००३ मा जम्मा आग्रह गरेको हो ।