उपनिर्वाचको अघिल्लो दिन लुम्बिनीमा विपक्षीको विरोध

भक्तपुर – राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि लुम्बिनी प्रदेशमा आज (सोमवार) हुने उपनिर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ ।
जसपाले प्रदेश सांसदबाट हटाएका लुम्बिनी प्रदेशका ४ सदस्यले निर्वाचनको पुर्वसन्ध्यामा मतदान गर्न पाउने व्यवस्था गरेपछि गठबन्धन दलले विरोध जनाएका हुन । मतदान शुरू हुनु भन्दा करिब १६ घण्टाअघि मतदाता थप्नु निर्वाचन आचार संहिता र निर्वाचन प्रणालीको आम मान्यता विपरीत भएको उनीहरूको भनाइ छ ।
विपक्षी गठबन्धनले प्रेस विज्ञप्ति जारी गर्दै यस कदमले सम्पूर्ण संवैधानिक अंगमाथिको विश्वसनीयतामै समेत प्रश्नचिह्न खडा भएको उल्लेख गरेका छन्। त्यस्तै निर्वाचन आयोग जस्तो संवैधानिक अंग केपी ओली एमालेको विभागमा परिणत भएको प्रमाणित गरेको आरोप समेत लगाएका छन । यसले राष्ट्रिय सभाको उपनिर्वाचन मात्र नभइ सबै निर्वाचन निष्पक्ष नहुने संकेत गरेको उनीहरुको भनाई छ ।
यस कदमको घोर विरोध गर्दै निष्पक्ष निर्वाचनका लागि आइतबार निर्वाचन आयोगको निर्णय र आदेशको कार्यान्वयन नगर्न र नगराउन समेत लुम्बिनी प्रदेशका नेपाली कांग्रेस सांसद एवं संसदीय दलका नेता वीरेन्द्र कनौडिया, सांसद एवं माओवादी केन्द्रका संसदीय दलका नेता कुल प्रसाद केसी, सांसद जनता समाजवादी पार्टी एवं संसदीय दलका प्रमुख सचेतक पूर्मती डङ्गा मगर र राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले जोडदार आह्वान गरेका छन् ।
जसपाले आफ्ना ४ सदस्यलाई कारवाही गरी दलबाट निस्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो । सो अनुसार उनीहरुको सदस्यता खोरज भएको निर्वाचन आयोगले निर्णय गरी उपनिर्वाचनमा ७९ जना प्रदेशसभा सदस्यले मात्र मतदान गर्ने भनेर नामावली निकालेको थियो । तर आयोगले आइतबार मात्रै हाल मन्त्री समेत रहेका ४ जना जनालाई पुरक मतदाताको अधिकार दिएपछि पछिल्लो विवाद देखिएको हो ।
जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार निर्वाचन आयोगको पछिल्लो निर्णयअनुसार थप ४ जना मन्त्रीलाई पनि पुरक मतदाताको अधिकार दिइएको हो ।
योसहित अब लुम्बिनी प्रदेश सभामा कुल ८३ जना प्रदेशसभा सदस्यले मताधिकार पाएका छन् । आयोगको पछिल्लो निर्णय संगै आइतबार दिउँसो सम्म मताधिकारबाट वञ्चित रहेका मन्त्री समेत रहेका जसपा सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय ,सुमन शर्मा रायमाझी र विजय बहादुर यादवले पनि मताधिकार पाएका हुन् ।