इराकविरुद्ध नेपाल ६–२ गोल अन्तरले पराजित

भक्तपुर – घरेलु टोली इराकविरुद्ध शनिवार राती सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले एक समय २–१ ले अग्रता बनाएपनि लय गुमाउँदा अन्त्यमा खेलको नतिजा इराकलाई सुम्पिन पुगेको हो ।
इराकको जितमा अयमन हुसेन गबधनले दुई, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक÷एक गोल गरे । नेपालका लागि मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।
शारिरीकरुपमा निक्कै बलिया इराकविरुद्ध नेपालले खेलको सातौं मिनेटमै गोल व्यहोरेको थियो । कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरेर इराकलाई अग्रता दिलाए । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो । नेपालका मनिष डाँगीले अला अब्दुललाई फल गरेपछि इराकले फ्रिकिकको मौका पाएको थियो ।
तर इराकी खेलाडीले गोल खुसी मनाउन नपाउँदैं नेपालले बराबरी गोल गरे । खेलको आठौं मिनेटमा अञ्जन बिष्टको शक्तिशाली प्रहार बचाउने क्रममा इराकी अहमद इब्राहिम खलाफले आत्मघाती गोल गर्दा नेपाल बराबरी गर्न सफल भयो ।
त्यसअघि खेलको दोस्रो मिनेटमा नै बल हेड गर्नेक्रममा विपक्षी खेलाडीसँग ठोकिएपछि नेपालका रोहित चन्दको टाउकोमा चोट लागेको थियो । उनी त्यसपछि पट्टि बाँधेर खेलेका थिए ।
खेलको १३ औं मिनेटमा नेपालले अग्रता बनाउन अवसर गुमाए । अन्जनले इराकी डिफेन्डरको गल्तिको फाइदा उठाउँदै गरेको प्रहारलाई गोलरक्षक फाहद तालिम रहिमले बचाए । त्यस लगत्तै इराकले केहि मुभ सिर्जना गरेपनि नेपालको डिफेन्स चिर्न सकेन । सुरुवाती १५ मिनेटपछि खेलको गति केहि सुस्त हुँदा इराकले बल पोसेसनमा पकड जमाउन सुरु गरेको थियो ।
खेलको २७ औं मिनेटमा किरणले क्रसमा आएको हेडरलाई बचाउँदै नेपालको संकट टारे । त्यसकै काउन्टरमा सिर्जना भएको आक्रमणमा मनिषले पेनाल्टी क्षेत्रबाहिर बल नियन्त्रण गर्न खोज्दा ह्याण्ड भएपछि नेपालले अग्रता बनाउने अर्को अवसर गुमाए ।
मनिषले नै खेलको २९ औं मिनेटमा शानदार गोल गर्दै नेपाललाई अग्रता दिलाए । मनिषले सन्तोष तामाङको पासलाई सदुपयोग गर्दै इराकी गोलकिपर अघि बढेको अवस्थामा पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए । उनको यो डेब्यु खेलमा डेब्यु गोल हो ।

खेलको ३६ औं मिनेटमा कप्तान किरणले क्रसमा आएको अर्को हेडरलाई विफल पार्दै नेपालको अग्रता जोगाए । इराकले ३९ औं मिनेटमा मोहमद अब्दुल्जारा ओबेदको हेड गोलबाट खेल बराबरी गोल गरे । कर्नरमा आएको बललाई ओबेदले ६ यार्र्ड बक्स नजिकबाट हेडरमार्फत गोल गरेका थिए ।
त्यस लगत्तै नेपालको डिफेन्स लाईनले गम्भिर गल्ती गरे । रोहितले डिबक्स भित्र दिएको ब्याकपासमा अयमन हुसेनले गोल गर्दै इराकलाई ३–२ को अग्रता दिलाए । रोहितले दिएको ब्याकपासमा किरण निकै पछाडी हुँदा गबधनले सहज अवसर पाएका थिए । पहिलो हाफको इन्जुरी समयमा अयमन हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकलाई ४–२ को अग्रता दिलाए ।
दोस्रो हाफमा नेपालले तीन खेलाडी परिवर्तन गरे । सन्तोष तामाङ, नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल, अभिषेक रिजाल र विशाल राई मैदान प्रवेश गरेका थिए । दोस्रो हाफको सुरुवातमा इराकले दबाब बनाएपनि गोल भने निकाल्न सकेन ।
खेलको ६८ औं मिनेटमा नेपालको डिफेन्स लाइनले अर्को गम्भिर गल्ती गरे । फेरी एक पटक डिफेन्स र गोलकिपरबीच तालमेल नमिल्दा नेपालले अर्को गोल व्यहोर्नु प¥यो । डिफेन्डर सुमन अर्यालको खराब व्याकपासमा वैकल्पिक खेलाडी मोहमद अलि अलसम्मारीले गोल गर्दै इराकलाई ५–२ को अग्रता दिलाए ।
खेलको ७४ औं मिनेटमा सज्जाद जसिमले गोल गर्दै इराकलाई ६–२ को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।
नेपालले इराकविरुद्ध पहिलो हापमा प्रभावशाली प्रदर्शन गरेको थियो । नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६–२ को हार व्यहोर्नु परेको थियो । पहिलो हाफमा एक समय अग्रता समेत लिएको नेपालले पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि खेलमा पकड गुमाएको थियो । दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति कायम नै राख्दा नेपाल भने कमजोर सावित भयो । नेपालभन्दा निकै माथिल्लो स्तरको इराकविरुद्ध नेपालको प्रदर्शन भने विगतभन्दा केहि सुधारिएको देखियो ।
नेपाली टोली अब स्थलमार्ग हुँदै कुवेत प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप २०२२ र एसियन कपको छनोटका बाँकी खेल खेल्नेछ । समूहको चौंथो स्थानमा रहेको नेपालको विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने सम्भावना कम भएपनि एसियन कपमा छनोट हुने सम्भावना भने बाँकी रहेको छ ।
छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ । नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन तथा जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ ।
नेपालको ५ खेलमा १ जित र ४ हारको नतिजा रहेको छ । समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन । अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान तथा कुवेत र जोर्डनको १०–१० अंक छ ।