निषेधाज्ञाले एकल महिला र निम्न वर्गिय परिवारमा मानसिक तनाव बढ्दै

भक्तपुर – भक्तपुरको भेलुखेलस्थित ल्योसिंख्यमा इनारमा पानी लिन आउनुभएकी महिला सानु श्रेष्ठ (नाम परिवर्तन) एक्लै टोलाउँदै थिए । एकैछिनमा अर्की महिला पानी लिन इनार आईपुग्नुभयो । सानुको अनुहार हेरी के भयो भनी प्रश्न गरिन् ।
“काम हुँदा ठिक छु जस्तो लाग्छ । अरु बेला के हुन्छ, थाहा छैन । कमाई छैन । जग्गा जमिन छैन । सानो घर छ बालबच्चा छन् । कसरी दैनिकी गुजारा गर्ने ?,” सानुले भन्नुभयो ।
कुराकानीका क्रममा सानुले गतवर्ष श्रीमान्लाई कोरोना संक्रमण भएको र लामो समय अस्पताल बस्नु परेको व्यथा सुनाउनुभयो । “साढे चारलाख रुपैयाँ सकियो । त्यो पनि ऋण तिर्नु छ । खै के गर्ने । अहिले पनि निषेधाज्ञा छ । कामछैन सबै घरमै छौ । भएका अन्न सकिनै लाग्यो । बालबच्चाई के खुवाउने । कहिले खुल्छ,” उहाँले भन्नुभयो, “समाचार हेरे दैनिक कोरोनाले मरिरहेका मात्र छन् । खाली दिमागमा यी कुराहरु आइरहन्छ । अनि के गर्ने कसो गर्ने भनी सोच्दा सोच्दै टाउको फुट्ला जस्तो हुन्छ । पुरै अन्धकार हुन्छ ।”
भक्तपुरको आदर्शमा डेरा गरी बस्ने रिता लामा (नाम परिवर्तन) काठमाण्डौंमा घरेलु सफाईकर्मीको काम गर्नुहुन्छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि गत बैशाख १६ गतेदेखी निषेधाज्ञा लागु भएसँगै उहाँको काम मात्र बन्द भएन आम्दानीको एक मात्र स्रोत समेत बन्द भएको छ ।

“काठमाण्डौंमा गएर लुगा धुने र घर सरसफाई गर्ने काम गरी गुजारा गर्दै आएकी थिएँ,” दुई बालबच्चाकी आमा रिताले भन्नुभयो, “अहिले निषेधाज्ञाले गर्दा काम पनि छैन आम्दानी पनि छैन । भोलीका दिनमा बालबच्चालाई के खुवाउने भन्ने चिन्ताले सताउँछ र एकदम टाउको दुख्न थाल्छ ।”
श्रीमान दुई वर्ष अघि वैदेशिक रोजगारीका लागि कतार गएदेखी सम्पर्कमा नआएको रिताले बताउनुभयो । “श्रीमान् वैदेशिक रोजगारका लागि कतार गएको दुई वर्ष भैसक्यो । विदेश गएदेखि नसम्पर्कमा आउँछ न त पैसा नै पठाउँछ । दुई सन्तानलाई कसरी पाल्ने भन्दै रुँदै कामको भिख माग्दै दैनिकी गुजार्नु परेको छ,” उहाँले भन्नुभयो ।
गतवर्ष कोरोना संक्रमित भई १९ दिन खरिपाटीस्थित क्वारेन्टिनमा बस्नुभएकी सुनिताको हालत पनि रिता र सानुको भन्दा कम छैन् । अहिलेपनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले होम आइसोलेसन बसेकी सुनिता एकल महिला हुन । उहाँका दुई छोरा छन ।
स्थानीय एक नीजि विद्यालयमा पढाउने सुनिताको पनि निषेधाज्ञाले शिक्षण संस्था बन्द हुँदा रोजगारी गुमेको छ । आम्दानीको स्रोत बन्द भएकाले सुनिता निन्द्रामा समेत कसरी घर चलाउने, छोराहरुलाई के खुवाउने, कोरोनाले म मरे भने छोराहरुलाई कसले हेर्छ भनी रुने गरेको सुनिताको देवरानीले बताउनुभयो । अहिले सुनिता आफै बिरामी भएका कारण छोराहरुलाई माइती हेटौडामा पठाएको छ । उनी एक्ली छिन । अहिले उनको रेखदेख देवरानीले गर्दै आउनुभएको छ ।

कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागु भएसँगै धेरैले रोजगारी गुमाएका छन । ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाउनुपर्ने निम्न वर्गका परिवारलाई निषेधाज्ञाले बिस्तारै विचलित बनाउन थालेको छ । विषेश गरी दैनिकी गुजारा गर्नुपर्नेलाई निकै सकस भएको देखिन्छ ।
गएको वर्ष पनि ६ महिनाभन्दा लामो समय बन्दाबन्दीमा बिताउनु परेका अधिकासं परिवारको अवस्था यस्तो  भएको देखिन्छ । उनीहरुलाई परिवार कसरी पाल्ने भन्ने चिन्ताले निकै सताउन थालेको छ । रोगले भन्दा पनि भोकले मर्ने हो की भन्ने चिन्ताले गृहिणी, एकल महिला र न्यून आय भएका परिवारमा मानसिक विचलन आउन थालेका उदाहरण हुन रिता, सानु र सुनिताको अवस्था ।

बन्दाबन्दी वा निषेधज्ञाले दैनिक ज्याला मजदुरी गर्ने वर्गमा एकदमै नराम्रो प्रभाव पार्ने भक्तपुर अस्पतालकी मनोचिकित्सक डा. कञ्चन दाहाल बताउनुहुन्छ । “अरुबेला जसोतसो दैनिक मजदुरी गरेर आफ्नो परिवार पालिरहेका हुन्छन् । तर अहिलेको अवस्थाले उनीहरुलाई सबै भन्दा पहिला रोग होइन भोकले मानसिक तनाव बढाएको हुन्छ,” उहाँले भन्नुभयो ।
मैले कसरी मेरो बालबच्चा, परिवारलाई भोकप्यास मेटाउने, बास कसरी जोगाउने, अरुबेला दिइरहेको आवश्यकताहरु यसबेला कसरी पुरा गरिदिने भन्ने डरले डेरा जमाउने गरेको पाईएको उहाँले बताउनुभयो ।
“अहिलेको स्थितिमा उनीहरुलाई संक्रमण भयो भने के गर्ने, हातमुख जोड्न नसकेको अवस्थामा संक्रमित भयो भने कसरी उपचार गर्ने, बालबच्चालाई शिक्षाको पहुँचबाट कसरी जोगाउने भन्ने मानसिक तनाब हुन्छ नै । त्यसका बाबजुत नियमित रुपमा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अभाव हुदाँ पनि मानिस बिरामी भई त्यतिकै मनोरोगी जस्तै हुन्छ,” उहाँले भन्नुभयो । उहाँले यस्ता किसिमका मानसिक तनावले बाँच्नुको अर्थ छैन भनी आत्मग्लानी उत्पन्न गराई गलत बाटो अंगालेको समेत घटना देखिएको बताउनुभयो ।
मजदुरी वर्गमा यस्ता समस्याको परामर्श भन्दा पनि सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो । “उसले खानै पाएन भने परामर्श गरेर केही हुँदैन । उसको सबभन्दा ठूलो कुरो भोक हो । भोक मेटाउनु पर्छ । त्यसका लागि मुलकमा यस किसिमका अप्ठेरा परिस्थितिहरु आउँदा खेरी सम्बन्धित निकाय, विभिन्न संघसंस्था वा व्यक्तिगत रुपमा केही सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो । समस्यामा परेका वर्गलाई सोही अनुसारको सहयोग मिल्यो भने मेरो परिवारलाई भोकै राख्नु परेन भन्ने भाव जाग्दै जाने र मानसिक तनाव पनि कम हुँदै जाने उहाँले बताउनुभयो ।
काठमाण्डौं उपत्यकामा शुक्रवारदेखी निषेधाज्ञा थप कडा भएको छ । दैनिक उपभोग्य वस्तुको खरिद बिक्री हुने किराना पसल समेत एक हप्ता बन्द गर्ने निर्णय उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन । यसले दैनिक ज्यालामजदुरी गरेर छाक टार्नुपर्ने वर्गलाई थप समस्यामा पार्ने देखिन्छ । सरकारले स्थानीय तहमार्फत यस्ता परिवारलाई उचित राहत र सहयोगको व्यवस्था गर्न नसके निम्न आय भएका परिवारमा मनोरोगको समस्या आउने देखिन्छ ।